काठमाण्डौ,११ भदौ ।
गृहमन्त्री बालकृष्ण खाँणले अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धार,उपचार,राहत बितरण र पुनर्थापना कार्य तत्काल अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालयमा शुक्रबार आयोजित विपद व्यवस्थापन सम्बन्धी बैठकमा मन्त्री खाणले विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रतिनिधिलाई शुक्रबार मन्त्रालयमा बोलाएर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनर्थापना कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन् ।
वर्षात भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्वतयारी गर्न समेत गृहमन्त्री खाँणले निर्देशन दिए ।
गृहमन्त्री खाँणले बाढी, पहिरोका कारण अबरुद्ध राजमार्गमा बैकल्पिक उपाय अपनाएर भए पनिसवारी साधन संचालनको व्यवस्था मिलाउन समेत निर्देशन दिएको उनको निजि सचिवालयले जनाएको छ ।
सो अवसरमा गृहसचिव टेकनारायण पाण्डेले अझै भोलि बिहानसम्म निरन्तर वर्षात हुने सम्भावना रहेकाले समन्वयमा काम गर्न निर्देशन दिए । ‘विपद्मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्नुहोला,’ गृहसचिव पाण्डेले भने ।
त्यस्तै राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुंगान, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, जलस्रोत तथा सिंचाई विभाग, खानी तथा भुगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा वर्षादपछि भएको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा मन्त्रालयकी विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले वर्षातपछि अहिलेसम्म भएको प्राकृतिक विपत्तिबारेको तथ्यांक प्रस्तुत गरेकी थिइन् ।
जेठ ३१ गतेदेखि अहिलेसम्म ८५ जनाको मृत्यु भएको, ४४ जना वेपत्ता छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको तथा विभिन्न स्थानमा बाढी र पहिरोले गराएको क्षतिबारे जानकारी गराइन् । पहाडी जिल्लामा पहिलो, तराईमा डुबान भएको उनले जानकारी गराइन् ।






