परासी,११ भदौ ।
बिहीबार रातिदेखि लगातार परेको वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ ।
सदरमुकाम हुँदै बग्ने झरही नदी ओभरफ्लो भइ परासी बजारमा पसेर बजार डुबानमा परेको हो ।
बजारको पुर्व झरही नदी र पश्चिम रावनखन्डा खोलाको बाढी बजारमा पसेर जिल्लाको रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा नम्बर १ सहुवाटिकर, वडा २ को मस्जिदटोल, हाटबजार टोल, ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा ५ को प्रशासनटोल ड्राइभरटोल, इमलीटोल, बुद्धचोक टोल र वडा ६ पोखरापाली टोले पुरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु वर्षाको पानीले जलमग्न भएको छ ।

बाढीले जिल्ला प्रशासन कर्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाली सेना ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरुमा पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजु लामाले जानकारी दिए ।

बाढीको पानी घरमा पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामान लगायत भिजेको छ भने बजारका पसलहरुका विभिन्न सरसामानहरु भिजेर लाखौंको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको छ ।

यता पुर्व पश्चिम राजमार्गमा सुनवल नगरपालिकाको बडेरा, बनक्टी र ज्यामिरेस्थित डाइभर्शन पनि भत्केर आवागमन अवरुद्ध भएको छ । राजमार्गमै सुनवल–४ को तुरिया पुल पनि क्षतिग्रस्त हुदा राजमार्ग अवरुद्ध भइ आवागमन पुरै ठप्प भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउपालिका र रामग्राम, सुनवल बर्दघाट नगरपालिकाको केही वडाहरु बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ । यता सुनवल नगरपालिका वडा नम्बर ४ को एक १४ वर्षिय बालक बेपत्ता भको प्रहरीले जनाएको छ । बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको हुन सकेको प्रहरीको अनुमान छ ।