काठमाडौं,१० भदौ ।
नेकपा एमालेले निर्वाचन अयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको छ ।
को आजको बैठक सकिएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई पदमुक्त नगरेको तथा कारवाहीमा परेकाहरुको समेत सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।
एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार एमाले केन्द्रीय कमिटीले १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको छ ।
बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको उनले बताए ।
त्यस्तै बैठकले देशैभरका पालिकाको अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको छ भने संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको समेत ज्ञवालीले बताए ।
भदौ १६–२० गतेसम्म जिल्ला भेला सम्पन्न गर्ने, भदौ २५–२६ गते स्थायी कमिटी बैठक र २७–२८ गते केन्द्रीय कमिटी बैठक गर्ने निर्णय पनि बैठकले गरेको छ ।
पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने, देशैभरका सम्पूर्ण वडा अधिवेशन कात्तिक ६ गते गर्ने, देशैभरका पालिका अधिवेशन कात्तिक ९ गते गर्ने, १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको जनाइएको छ ।






