आगामी चुनावपछि ५ वर्ष मात्रै सक्रिय राजनीतिमा रहने

काठमाडौं,१० भदौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए । तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’

बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएको भन्दै अध्यक्ष नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहने बताए ।

आजीवन राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘मेरो मोटो कुरा के छ आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’ यद्यपि पार्टीका नेताहरुले अहिले नै त्यसो नभन्नुस् है भनेको उनले सुनाए ।

नेकपा एमालेमा रहँदा पनि केपी ओलीलाई विदा गरेर युवा पुस्तालाई नेतृत्व लिन आग्रह गरेको अध्यक्ष नेपालले बताए । ‘मैले त अहिले नै भनेको थिए, केपी ओलीलाई विदा गरेर युवा पुस्ताले सम्हालोस् । सम्हाले भयो, मेरो सहयोग रहन्छ’ उनले भने ।