काठमाडौं,१० भदौ ।
नेपालमा बिहीबार थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६७२ एन्टिजेन परीक्षण गर्दा ३८१ जना गरी २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना कोरोना संक्रमित निको भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ५ हजार ८९३ जना संक्रमित निको भएका छन् भने १० हजार ६३८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ५४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।







