काठमाण्डौ,१० भदौ ।
जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहेका उनको उपचारकै क्रममा आज निधन भएको हो ।
उनको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारीवारीक स्रोतले जनाएको छ ।
उनका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।
पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले ’आमा दिदी बहिनी’, ’रातको अनिँदो’, ’बसाइँ हिँड्नेको ताँतीले’, ’छोराहरू हो’, ’जुनीभरि मुटु’ लगायतका दर्जनौँ गीत गाएका छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुसख व्यक्त गरेका छन् ।
कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री देउवाले उनको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
जेबी टुहुरे संविधान सभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष हुन् ।






