
काठमाडौं,९ भदौ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं सांसद रामकुमारी झाँक्रीले एमाले विभाजन हुनुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ठूलो भूमिका रहेको आरोप लगाएकी छन् ।
एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा भट्ट र केही केन्द्रीय सदस्यलाई सनाखत गर्न नमानेपछि झाँक्रीले उक्त आरोप लगाएकी हुन् ।
‘पार्टी विभाजन गरेर यो ठाउँसम्म आइपुग्नका लागि प्रमुख आयुक्तको धेरै ठूलो भूमिका छ,’ झाँक्रीले भनिन् । तत्कालीन नेकपाभित्रको विवाद चर्किएको अवस्थामा २०७७ पुस महिनामा बहुमत पक्षलाई आयोगले आधिकारिकता दिन अस्वीकार गरेको थियो । ’गत पुसमा आयोगले निर्णय नगर्नाले आजको अवस्था आएको हो,’ उनले भनिन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाको उक्त भूमिका बिर्सने अवस्था आफूहरू रहेपनि अहिले आयोगले सम्झाएको झाँक्रीको भनाइ थियो ।





