नवलपरासी,९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कसैले बार्दलीबाट हुँकार गर्दैमा सरकार वैधानीक या अवैधानीक नहुने बताएका छन् ।
प्रेस संगठन नेपाल पश्चिम नवलपरासीद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
नेकपा एमालले अहिलेको सरकारलाई गैरकानुनी भनि दिएको अभिव्यक्ती प्रति संकेत गर्दै मुख्यमन्त्री केसीले जसले असंवैधानिक, अलोकतान्त्रिक ढंगले सरकार सञ्चालन गरे उनीहरूले नै कानुन सिकाउनु हास्यास्पद भएको टिप्पणी गरे ।
मन्त्री केसीले एमाले आफैँले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा संघीयता कार्यान्वयनतर्फ ध्यान नदिएर प्रतिगमनतर्फ केन्द्रित भएको भन्दै अहिलेको सरकार पूर्णरूपमा संविधानको मर्मअनुसार संघीयता कार्यान्वयन गर्ने बताए ।
प्रदेश सरकारको पहिलो प्राथमिकतामा नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने र सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारसहित तयारी गर्नु रहेको केसीले बताए ।
मुख्यमन्त्री केसीले अघिल्लो सरकारले अध्यायदेशमार्फत ल्याएको बजेट फिर्ता गरी नयाँ बजेट ल्याइने र संघीयताको मर्मअनुसार सरकारी संरचनामा समेत केही परिवर्तन हुने बताए ।






