काठमाडौं, ९ भदौ ।
निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ ।
दुवै दलका नेताहरुलाई आयोगले आज सनाखतको लागि बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ ।
सनाखतका लागि बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।






