काठमाण्डौ,८ भदौ ।
माधव नेपाल समूहमा रहेर पार्टी बिभाजन हुँदा सो समूहमा नखुलेका पाँच जना सांसद एकीकृत समाजवादी पार्टीतिर खुलेका छन् ।

स्थायी कमिटीका १० जना नेता केपी ओली पक्षमा लागेकै दिन एमालेका पाँच जना सांसद एकीकृत समाजवादी पार्टीतिर खुलेका हुन् ।

गत बुधबार राती अष्टलक्ष्मी शाक्यसँगै बागमती प्रदेशको सामाजिक विकास मन्त्रीमा शपथ खाएका कृष्ण खनालसमेत हेटौंडाबाट आएर मंगलबार बेलुका एकीकृत समाजवादी पार्टीका नेताहरु बसेको चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्नेहरुमा पाल्पाका निर्वाचित सांसद सोमप्रसाद पाण्डे,जननेता मदन भण्डारीसँगै २०५० साल जेठ ३ गते दासढुङ्गामा दिवङ्गत संगठन बिभाग प्रमुख जीवराज आश्रितकी पत्नी तथा समानुपातिक सांसद माया ज्ञवाली,खोटाङ्गबाट प्रदेशसभा सदस्य राजन राई र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट आज एकीकृत समाजवादीमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका थिए ।

भोलि हुने हस्ताक्षर सनाखतमा नाम लेखाउन आज दिउँसो उनीहरु निर्वाचन आयोग गएका हुन् । आयोगले भने दल दर्ताका लागि यसअघि निवेदन दर्ता भैसकेकाले अर्को निवेदन लिन नमिल्ने बताएको थियो ।

चारै जना सांसद अहिले चन्द्रागिरी रिसोर्टमा जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा सहभागी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।