बुटवल,८ भदौ ।
जवरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) साढे ५ लाख धरौटीमा रिहा भएका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासिनीको ईजलाशले मंगलबार शुक्ललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सम्मरीमाई गाँउपालिका बडा नम्बर १ की एक महिलामाथि जवरजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष शुक्ला अदालतले तोकेको साढे ५ लाख धरौटी बुझाएर रिहा भएको शुक्लाका कानुनी सल्लाहकार सुनिल त्रिपाठीले जानकारी दिए ।

शुक्लबिरुद्ध उनकै गाउँपालिकाकी एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिए पछि रुपन्देही प्रहरीले साउन २८ गते उनलाई हिरासतमा लिएको थियो ।

१३ दिनको प्रहरी हिरासत बसाइपछि शुक्ल मंगलबार अदालतको आदेशमा रिहा भएका हुन् । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।