बुटवल,७ भदौ ।
विपक्षी दल नेकपा एमालेको चेतावनीकाबीच आज लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक बस्दै छ ।
नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुदै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभाका सदस्य अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने एमालेको चेतावनीकाबीच आज प्रदेश सभाको बैठक बस्न लागेको हो ।
एमालेकै अवरोधका कारण आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ । एमालेले विना विभागीय मन्त्री शाही र सांसद वलीलाई पार्टीको ह्वीप, विधान र आचारसंहिता उल्लंघन गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र दर्ता गराएको थियो ।
प्रदेश सभा सचिवालयले भने सचिवालयको रेकर्डमाा उनिहरु एमाले भएको नदेखिएको भन्दै एमकालेको पत्रको आधारमा पदमुक्त गर्न नमिल्ने जनाउ एमालेलाई दिइसकेको छ ।
सुर्य चुनाब चिन्ह लिएर चुनाब लडेका प्रदेश सभा सदस्य शाही र वलीले दलको ह्वीप उल्लंघन गरेको आरोपमा पदमुक्त गर्न सिफारिस सचिवालयले अस्वीकार गरेपछि एमाले थप आक्रोसित भएको छ ।
आफुहरुले कारबाहीको सिफारिस गरेका प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्न नमिल्ने सचिवालयको पत्र पाएपछि थप आक्रोसित भएको एमालेले आइतबार पत्रकार सम्मेलन गरी सभामुखलाई प्रदेशसभा बैठकबाटै ठेगान लगाउने चेतावनी दिएको छ ।
चालु प्रदेश सभाको नऔं अधिवेशनको पहिलो बैठकमै एमालेले अबरोध गरेपछि नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत समेत लिन पाएका छैनन् ।
एमालेको अवरोधकै बीच आजका लागि बोलाइएको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले अर्थ र विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजकै बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम सुधारसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।






