बुटवल,६ भदौ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।
दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाहीको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको एमालेले उनिहरुलाई पदमुक्त नगरेसम्म प्रदेश सभा चल्न नदिने चेतावनी दिएको हो ।
नेकपा एमाले प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गरी पार्टीले पदमुक्त गर्न पत्राचार गरेका दुई प्रदेश सभा सदस्लाई पदमुक्त नगरेसम्म प्रदेश सभा चल्न नदिने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल,संसदीय दलका उप नेता तथा पुर्वमन्त्री बैजनाथ चौधरीले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै प्रदेश सभा सदस्य शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताए ।
सभामुख पूर्णबहादुर घर्तीले कानून बिपरितको कार्य गरेको आरोप लगाएको एमालेले सभामुख बिरुद्ध अदालत भने नजाने बताएको छ ।
सभामुख बिरुद्ध अदालत जानुहुन्छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा पुर्व मन्त्री चौधरीले आफुहरु अदालत पनि नजाने र दुई प्रदेश सभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने बताए ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर निर्वाचन जितेका शाही हाल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री भएका छन् । त्यस्तै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाबाट प्रदेशसभा उपनिर्वाचन जितेकी वलीले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी छिन् ।
हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह र तत्कालिन नेकपा एमालेबीच दुई बुदे सहमतिको आधारमा चुनाव तिन्ह सुर्य लिए पनि आफु स्वतन्त्र राजनीतिक समूहको तर्फबाट चुनाव लडेकोले आफुलाई एमालेको ह्वीप नलाग्ने शाहीको दाबी छ ।
एमालेले भने दुबै जना सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका र नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका सदस्य रहेको भन्दै पार्टीको निर्देशन नमानेकाले निष्कासनको कारबाही गरी प्रदेशसभामा जानकारी गराएको थियो ।
प्रदेशसभा सचिवालयले भने उनीहरु एमाले हो भन्ने प्रमाण नदेखिएको भन्दै पदमुक्त गर्न नमिल्ने जवाफ शुक्रबार एमालेलाई दिएको छ ।






