बुटवल,६ भदौ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ ।
नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै प्रदेश सभा सदस्य शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।
कारबाहीका लागि एमालेले पठाएको पत्रको जवाफ दिदै प्रदेश सभा सचिवालयले ती प्रदेश सभा सदस्यलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको जनाएको हो ।
एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई जवाफी पत्र पठाएको हो ।
प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको सचिवालयले जनाएको छ ।
शाही प्रदेशसभा निर्वाचन २०७४ मा स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए । उनी हाल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी भएका छन् ।
त्यस्तै वली तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपाबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् । र उनले नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह र तत्कालिन नेकपा एमालेबीच दुई बुदे सहमतिको आधारमा चुनाव तिन्ह सुर्य लिए पनि आफु स्वतन्त्र राजनीतिक समूहको तर्फबाट चुनाव लडेकोले आफुलाई एमालेको ह्वीप नलाग्ने उनको दाबी छ ।







