
बुटवल,५ भदौ ।
२ करोड ३५ लाख बढीको नक्कली स्टिकर सहित सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल डण्डा बोर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरीक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) नक्कली स्टिकर बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।
स्टिकर संगै सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवा बस्ने २३ वर्षीय साहिद अन्सारी र २४ वर्षीय अमानत अलीलाई नियन्त्रणमा लिएको हो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवाको एउटा घरमा अवैध मालबस्तु लुकाइएको भन्ने विशेष सूचनाको आधारमा हिजो सशस्त्र प्रहरी निरीक्षक अर्यालको कमाण्डमा सो घरमा खानतलाशी गर्दा उक्त परिमाणको नक्कली स्टिकर बरामद भएको हो ।
स्टिकरमा आन्तरिक राजस्व विभाग लेखिएको र उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबरको रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।
५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान स्टिकर मध्ये आयकरको १० लाख बराबर, मुल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबै भन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर रहेको ससस्त्र प्रहरीले जनाएको छ ।
ससस्त्र प्रहरीले उक्त समान ढुवानी गर्न प्रयोग गरिएको लु२च २५० नम्बरको गाडी तथा गाडीमा रहेको मालबस्तु समेत नियन्त्रणमा लिइ स्टिकर सहित आवस्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाईएको ससस्त्र प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए ।





