बुटवल ५ भदौ ।
भारतीय गाडीको ओभरलोड नियन्त्रण नगरे आन्दोलन चर्काउने नेपाली ट्रक ब्यवसायीहरुले चेतावनी दिएका छन् ।
भारतीय ओभरलोड गाडीका कारण नेपाली ट्रक व्यवसाय संकटमा परेको भन्दै नेपाली ट्रक ब्यवसायीहरुले ओभरलोड नियन्त्रण नगरे आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।
आफुहरुको पटक पटकको अनुरोध सरकारले नसुनेको गुनासो गर्दै उनिहरुले अब सडकमै सुतेर भए पनि भारतीय ओभरलोड नियन्त्रण गर्ने बताए ।
लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात ब्यवसायी समिति र ढुवानी समितिले शनिवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्ने र त्यसो नगरे एक मुठी पनि भारतीय ओभरलोड रहेका सामान नेपाल छिर्न नदिने चेतावनी दिए ।
कार्यक्रममा नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागी भाडादर तोके पनि ओभर लोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने समस्या रहेको बताए ।
भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेका कारण नेपाली ट्रकहरु भारतीय ट्रकहरुसँग प्रतिष्प्रर्धा गर्न नसकेको उनको भनाई छ ।
बिभिन्न तहमा रहेका सरकारी अधिकारीहरुको सेटिङमा ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेको व्यवसायीहरुको आरोप छ ।
सरकारले असार २९ गते नेपालका बिभिन्न ६१ स्थानका लागी मालबाहक सवारीको लागी भाडादर तोकिदिएको छ । करिब ७ बर्ष यता भाडादर समायोजन नभएको अवस्थामा अहिले समायोजन भए पनि तोकिएको भाडा नपाउने अवस्था रहेको व्यवसायीहरुको गुनासो छ ।
बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिदा ट्रक व्यवसायीहरु मर्कामा परेको बताउदै ब्यवसायीहरुले सिमा नाकामै समय समयमा भारतीय ट्रक रोक्ने गरेका छन् ।
देश भित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिने गरेको उनिहरुको गुनासो छ ।
कानुन सबैलाई समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग राख्दै आए पनि अहिले सम्म यसको सुनुवाई नभएको व्यवसायीहरुले गुनासो गरे ।
ट्रक ब्यवसायीहरुले नेपालको २ प्रमुख नाका बिरगंज र भैरहवा नाकालाई लक्षित गरि ओभरलोड नियन्त्रण गर्ने राणनीति अगाडी बढाउने बताएका छन् ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भारतबाट आउने ठूला प्रकृतिका समानलाई केही नगरे पनि पल्टि गरेर नेपाली ट्रकले बोक्न मिल्ने सामाग्रीको हकमा ओभरलोड नियन्त्रण गर्नुपर्ने बताए ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकाको बुंदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” उल्लेख छ ।
नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिने गरेको व्यवसायीहरुको दाबी छ ।
नेपाल ट्रक यातायात ब्यवसायी समिति लुम्बिनी प्रदेश यसको नियन्त्रणमा कडाईका साथ लाग्ने समितिका अध्यक्ष यम प्रसाद पाण्डले बताए । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए त्यस्ता ट्रकको बिमा संस्थाले नब्यहोर्ने र समितिवाट गाडीको खारेज गर्ने सम्मको कदम चालिने उनले चेतावनी दिए ।
कार्यक्रममा लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितीका महासचिव जीत बहादुर भाट, ढुवानी व्यवसायी समिती रुपन्देहीका अध्यक्ष श्याम बहादुर हमाल लगायतले व्यवसायीहरुले सरकारले समायोजन गरेको भाडा लागु गर्न पनि भारतीय गाडीको ओभरलोड नियन्त्रण जरुरी रहेकोे औल्याए ।






