काठमाडौं,४ भदौ ।
अफगानिस्तानबाट उद्धार गरिएका थप नेपाली नागरिक स्वदेश फर्कनेक्रम जारी रहेको छ ।
आज मात्रै जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।
अफगानिस्तानबाट हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेको र थप नौ जना नियमित उडानबाट आजै राति नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धार गरेर स्वदेश फर्किएकाहरूमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूसहित अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका समेत रहेका छन् ।
काठमाडौँ आइपुगेकाहरूलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सरकारले व्यवस्थापन गरेको सामाखुसीस्थित ‘होल्डिङ सेन्टर’मा राखिएको पनि मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
‘कन्सुलर’ सेवा विभागको ‘वेब पोर्टल’मा आज साँझ ५ बजेसम्म ३१० नेपालीले आफ्नो विवरण दर्ता गराएको मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।
अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक घिमिरेका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएशन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँगको समन्वय र सहकार्यमा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।








