बुटवल,४ भदौ । लुम्बिनी प्रदेशका पुर्वमन्त्री सुदर्शन बरालले पत्रकारहरुले गलत कार्यको ढाकछोप गर्न नहुने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला समिति बैठकलाई सम्बोधन गर्दै बरालले उक्त कुरा बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बरालले ठुला कर्पोरेट मिडियाहरुले जनतालाई विचारको राजनीतिबाट पाखा लगाउन खोजेको उल्लेख गर्दै क्रान्तिकारी पत्रकारहरुले श्रमजीविहरुको आवाज उठाउन छोड्न नहुनेमा जाेड दिए ।
देशभर भैरहेका विकृति, विसंगति,भष्ट्रचार र विभेदका बिरूद्व कलम चलाउन क्रान्तिकारी पत्रकारहरू डराउन नहुने बताउदै उनले शासक वर्गले समाजमा भ्रम सिर्जना गरिरहेको र त्यस्ता भ्रमलाई चिर्न प्रेस संगठनका पत्रकार लाग्नुपर्ने बताए ।
बैठकलाई सम्बोधन गर्दै प्रेस संगठन लुम्बिनी प्रदेशका संयोजक मानसिंह विकले पछिल्लो समयमा साभार गर्ने पत्रकारिताको विकृति रहेको बताउँदै मर्यादित भएर खोज पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाए ।
भेलामा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सचिव निर्मल जि. सी, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रुद्रहरी कुवर लगायतले मन्तव्य राखेका थिए ।
प्रेस संगठनको उक्त बैठकले संगठनको कार्यविभाजन र वार्षिक कार्ययोजना तय गरेको सचीव विष्णु पोखरेलले जानकारी दिए ।






