काठमाडौं,४ भदौ ।
नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालको पार्टीको नाम नेकपा समाजवादी मात्रै रहने भएको छ ।

यसअघि नेकपा एमाले (समाजवादी) पार्टीको नामबाट निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको सो पार्टीले बिहीबारनै नेकपा एमाले समाजवादीको नाम परिर्वतन गरि नेकपा समाजवादी कायम गर्न अर्को निवेदन दिएको हो ।

नेपालपक्षकी केन्द्रीय सदस्य निरा जैरुले बिहीबार ४ बजे निर्वाचन आयोगमा नेकपा समाजवादी दर्ता भएको जानकारी दिइन् ।

‘एमाले हटाएर कागजपत्र बुझाएका छौं,’ उनले भनिन्, ‘आज आयोगले प्रमाणपत्र उपलब्ध गराउँछ होला ।’ आयोगले एमाले नाम राख्दा मूलपार्टीसँग जुध्ने भन्दै फरक नाम ल्याउन सुझाव दिएको थियो । लगत्तै उनीहरुले एमाले हटाएर समाजवादीका लागि मात्र निवेदन दिएका थिए ।

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा बुधबार राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल दर्ताको निवेदन दनि निर्वाचन आयोग पुगेको थियो । त्यसक्रममा दलको नाम नेकपा एमाले समाजवादी र निर्वाचन चिह्न खुला पुस्तक राखिएको थियो । तर चुनाव चिह्न अन्य दलसँग जुँधेपछि पछि निर्णय गरिने उक्तपक्षका नेताहरुले जनाएका थिए ।

तर नेकपा एमालेसँग नाम जुँधेको भन्दै आयोगले नाम फेर्न नेपालपक्षलाई भनेको थियो । त्यसपछि नेकपा एमाले समाजवादीको नाम फेरेर नेकपा समाजवादी दर्ता गरिएको जैरुले बताइन् ।

चुनाव चिह्नको विषयमा भने छलफल जारी रहेको नेताहरुले बताएका छन् ।