बुटवल,३ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूल प्रसाद केसीले बार्दलीय कम्युनिष्ट पार्टी अस्थित्वमा रहेसम्म मुलुकमा प्रतिगमनको खतरा रहिरहने बताएका छन् ।

बार्दलीमा बसेर हुँकार गर्ने र प्रतिगमनको सेवा गर्ने प्रबृत्तिका कारण एकता भएको छोटो समयमै नेकपा फुटनुपरेको भन्दै मुख्यमन्त्री केसीले बार्दलीय पार्टी अस्थित्वमा रहेसम्म प्रतिगमनको खतरा रहने भएकाले उसले फैलाएका भ्रमहरुलाई गठवन्धन दलहरुले चिर्न जरुरी रहेको बताए ।

प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समितिद्धारा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिन बिहीबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।

बार्दलीमा बसेर हुँकार गर्ने र प्रतिगमनको सेवा गर्ने प्रबृत्तिकै कारण तत्कालिन नेकपामा बिद्रोह भएको भन्दै उनले अहिले आएर बार्दलीय कम्युनिष्ट पार्टीबाट अरुले पनि बिद्रोह गर्न बाध्य भएको आरोप लगाए ।

प्रतिगमन बिरुद्धको आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै मुख्यमन्त्री केसीले संचार विधेयकमा रहेका कमिकमजोरीहरु सच्याएर पुनर्लेखन गर्न प्रदेश सरकार तयर रहेको जानकारी गराए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले कोरोना संक्रमणबाट जनतालाई जोगाउने र कोरोनाका कारण अर्थतन्त्रमा पारेको नकारात्मक असरहरुलाई कम गर्ने खालका कार्यक्रमलाई प्रदेश सरकारले अगाडी बढाउने बताए ।

गठबन्धन दलहरुबीच सरकार सञ्चालनबारे न्युनतम साझा कार्यक्रम बनेको भन्दै उनले सोही कार्यक्रमको आधारमा प्रदेश सरकारले कार्यक्रम ल्याउने जनाए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा.बालकृष्ण चापागाई,दलित पत्रकार संघका अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडी,प्रेस मञ्च नेपालका केन्द्रीय सचिब टोपराज शर्मा लगायतले सरकारी निकायबाट मिडियालाई दिने विज्ञापनमा बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रेस संगठन नेपाल प्रदेश संयोजक मानसिं बिकको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बशन्त गिरी,प्रगतिशील पत्रकार संघ प्रदेश अध्यक्ष श्यामलाल पोखरेल,प्रेस संगठन केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह संयोजक गुनाराम घिमिरे,प्रदेश सह संयाेजकद्वय रुद्रहरी कुँवर र मेनका चौधरी,पत्रकार प्रकाश खनाल लगायतले प्रदेश सरकार मिडियामैत्री बनोस भन्ने शुभकामना व्यक्त गरे ।