बुटवल,२ भदौ ।
नेपकपा एमालेको अवरोधका कारण मंगलबार र बुधबार लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भयो ।

जुन माग राखेर एमालेले प्रदेश सभा बैठक अबरुद्ध गर्दै आएको हो त्यसका लागि प्रदेश सभा सचिवालयलाई आवस्यक कागजात उपलब्ध नगराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभाका सभामुख भामुख पूर्ण बहादुर घर्तीले एमालेले दुई जना माननीयलाई कारबाही गरिएको भन्ने व्यहोराको एउटा पत्र बाहेक अन्य कागजात प्रदेश सभा सचिवालयलाई उपलब्ध नगराएको जानकारी दिएका हुन् ।

प्रदेश सभाको गतिरोध बारे पत्रकारहरुको जिज्ञासामा सभामुख घर्तीले उक्त कुराको जानकारी दिएका हुन् ।

कारबाही गरिएका माननीयहरुलाई पार्टीले सोधेको स्पष्टिकरण,उहाँहरुले दिएको जवाफ,दलको बिधान लगायत त्यससँग सम्बन्धित अन्य कुनै पनि कागजात सचिवालयलाई उपलब्ध नगराएको सभामुख घर्तीले बताए ।

एमालेले कारबाही गरेको भनिएकी प्रदेश सभा सदस्य बिमला वली खत्री नेकपा माओवादी केन्द्रमा रहेको र अजय शाही स्वतन्त्र राजनीतिक समूह उल्लेख भएको भन्दै सभामुख घर्तीले एउटा पत्रकै आधारमा सचिवालयले तत्कालै प्रदेश सभा सदस्यहरुलाई कारबाही गरिएको सूचना जारी गर्न कानूनी जटिलता रहेको जानकारी दिए ।

सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका २ प्रदेश सभा सदस्यलाई पदमुक्त गरेको सुचना सभालाई गराउनुपर्ने माग गर्दै एमालेले दुइ दिनदेखि प्रदेश सभाको बैठक अबरूद्व गर्दै आएको छ ।

सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समुहका अजय शाही र उप चुनावमा नेकपाबाट चुनाव जितेकी विमला वली खत्रीलाई नेकपा एमाले केन्द्रीय कमिटीले प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको पत्र एमालेले मंगलबार प्रदेश सभामा बुझाएको थियो ।

नेकपाबाट चुनाव जितेकी विमला वली खत्री अदालतले नेकपा खारेज गरेसँगै दल रोज्न पाउने प्राबधान अनुरूप माओवादी केन्द्र रोजेकी थिइन् भने अजय शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेकोले एमालेको ह्विप नलाग्ने बताउदै आएका छन् ।