काठमाडौं,२ भदौ । सरकारले अध्यादेश ल्याएर आफ्नो राजनीतिक शक्तिलाई अनुकूल पार्न खोजेको यो पहिलो घटना होइन । यसअघि पनि २०७७ साल बैशाख, मंसीर र गत जेठमा पनि अध्यादेश जारी भएको थियो ।
त्यतिबेला ओली सरकारले विपक्षी दल फुटाएर आफू अनुकूल सत्ता समीकरण बनाउन र संवैधानिक निकायमा आफू अनुकूल नियुक्ती गर्न पटकपटक अध्यादेश जारी गरेकाे थियो ।
देउवा नेतृत्वको सरकारले केपी शर्मा ओलीकै शैलीमा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको महन्थ ठाकुरलाई अनुकूल हुनेगरी अध्यादेश ल्याएकाे छ ।
यद्यपि अध्यादेश जारी भइसकेको छैन । त्यतिबेला अध्यादेशको पक्षमा रहेका दलहरु अहिले त्यसको विरोध गरिरहेका छन् भने त्यतिबेला अध्यादेशको विरोध गरेकाहरुले अहिले त्यसको बचाउ गरिरहेका छन् ।
राजनीतिक दलहरूको त्यस्तो द्वैध चरित्रले उनिहरूकाे अडानमा प्रश्न चिन्ह खडा भएको छ ।
आफुले गरेको जे पनि ठिक अरूले गरेको जे पनि बेठीक भन्ने दलहरूकाे रवैयाले दलहरू प्रति जनताको वितृष्णा अझै बढेर जाने देखिन्छ ।






