सत्ता पक्ष र विपक्षी दलबीच भिडन्तको संकेत
प्रकाश खनाल
बुटवल,१ भदौ ।
लुम्बिनी प्रदेश सभामा सत्ता पक्ष र विपक्षी दलबीच टकराव उत्पन्न हुने संकेत देखिएको छ ।

आजदेखि सुरु भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेसनको पहिलो बैठकमै विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी दलबीच टकरावको संकेत देखिएको हो ।

सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र राजनीतिक समुहका अजय शाही र उप चुनावमा नेकपाबाट चुनाव जितेकी विमला वली खत्रीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेश सभालाई जानकारी गराउन माग गर्दै एमालेका प्रदेश सभा सदस्यहरुले बैठक अबरुद्ध गरेका हुन ।

आजको वैठकमा प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद के.सी.सहित दलको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यसूचि रहेको थियो भने उद्योग, वन तथा वातावरण मन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूचि थियो ।

त्यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि रहे पनि एमालेको अवरोधका कारण कार्यसूचिको पहिलो र दोस्रो बुदा बाहेक कार्यसूचिमा रहेको अन्य बिषयमा प्रवेश नगरी बैठक स्थगित भएको थियो ।

निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिला सुरु भएको प्रदेश सभा बैठक विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तिले भोलि बुधबार दिउसो १ बजेम्मका लागि बैठक स्थगित गरेका हुन् ।

विपक्षी एमालेले आफुहरुको माग सम्बोधन नभएसम्म निरन्तर प्रदेश सभा बैठक अवरुद्ध गर्ने जनाएको छ भने सत्ता पक्षले जसरी पनि प्रदेश सभाको बैठक सूचारु गर्ने मनस्थितिमा देखिएका छन् ।

बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले आफुहरुको माग सुनुवाई नहुँदासम्म बैठक अबरुद्ध गरिरहने बताए ।

उता प्रदेशका शहरी तथा ग्रामिण विकास मन्त्री डिल्ली बहादुर चौधरीले भने नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत समेत नलिइसकेको अवस्थामा प्रदेश सभा बैठक अवरुद्ध गर्ने एमालेको कार्य लोकतान्त्रिक संस्कार बिपरीत भएको टिप्पणी गरे ।

आफु भए ठिक अरु सबै बेठिक भन्ने शैलीमा एमाले प्रस्तुत भएको भन्दै मन्त्री चौधरीले विपक्षी दलको रवैयालाई हेरेर सरकारले सोही अनुसारको रणनीति अख्तियार गर्ने बताए ।

यसरी विपक्षी दलले बैठक अवरुद्ध गरिराख्ने र सत्ता पक्षले जसरी पनि बैठक सूचारु गर्ने रणनीति अपनाउने मनस्थितिमा रहनुले प्रदेश सभाको नौं अधिवेशन सत्ता पक्ष र विपक्षी दलहरुबीच टकरावको अवस्था आउने देखिन्छ ।

प्रदेश सदस्य शाही र विमला वली खत्रीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्ने नेकपा एमाले केन्द्रीय कमिटीको पत्र एमालेले आजै प्रदेश सभामा बुझाएको थियो ।

नेकपाबाट चुनाव जितेकी विमला वली खत्री अदालतले नेकपा खारेज गरेसँगै दल रोज्न पाउने प्राबधान अनुरूप माओवादी केन्द्र रोजेकी थिइन् भने अजय शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेकोले एमालेको ह्विप नलाग्ने बताउदै आएका छन् ।