बुटवल,१ भदौ ।
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्मला मुढभरी भट्टराईलाई समानुपातिक तर्फको प्रदेश सभा सदस्य बनाउने निर्णय गरेको छ ।
यसअघि प्रदेश सभा सदस्य कल्पना पाण्डेय लम्सालले पार्टी निर्णय र ह्वीप उल्लंघन गर्दै शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै जसपाले कारबाही गरेको थियो ।
पाण्डे प्रदेश सभा सदस्यबाट पदमुक्ति भएपछि रिक्त रहेको स्थानमा जसपाले रुपन्देहीको सियारी गाउँपालिका छपियाकी निर्मलालाई सिफारिस गरेको सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए ।
मुढभरीलाई प्रदेश सभा सदस्यमा सिफारिस गर्ने पार्टीको निर्णय सहित मंगलबार निर्वाचन आयोगमा सिफारिस गरिएको अध्यक्ष यादवले बताए ।
लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये कल्पना पाण्डे सहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादव कारबाहीमा परेका थिए ।
पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद हुन् ।






