बुटवल,१ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले निजी क्षेत्रलाई उत्साहित बनाउने खालका कार्यक्रमलाई अगाडी बढाउने बताएका छन् ।

मंगलबार बुटवलमा आयोजित नवउद्यमशाला कार्यक्रमको समापन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले निजी क्षेत्रलाई निरुत्साहित बनाउने खालका कुनै कार्यक्रम नल्याउने भन्दै निजि क्षेत्रसँग हातेमालो गरेर अगाडी बढ्ने बताएका हुन् ।

जनतालाई कोरोना संक्रमणबाट बचाउने प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको भन्दै मुख्यमन्त्री केसीले संविधानको पालना र संघीयता कार्यान्वयन पनि सरकारको जिम्मेवारी र दायित्व भएको बताए ।

पुर्ववर्ती प्रदेश सरकारले बुटवल उद्योग वाणिज्य संघलाई पक्षपात गरी बजेट ल्याएको संघको गुनासो प्रति मुख्यमन्त्री केसीले आफ्नो भौतिक संरचना प्रदेश सरकारलाई दिएर सहयोग गरेको उद्योग बाणिज्य संघको चित्त दुखाउने खालका कुनै पनि कार्य नगर्ने प्रतिवद्धता जनाए ।

आफ्नो सचिवालय भवन लुम्बिनी प्रदेश सभालाई उपलब्ध गराएर उद्योग बाणिज्य संघले प्रदेश स्थापनामा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै उनले उद्योगि व्यवसायीहरुको चित्त दुखाउने खालका कुनै पनि कार्य नगर्ने बताए ।

यसअघिको सरकारले बजेट बिनियोजनमा गरेको पक्षपातपूर्ण कार्य बजोट संशोधनमार्फत सम्बोधन गर्ने मुख्यमन्त्री केसीले आश्वासन दिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी बनाउने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवद्र्धनको काम आफैमा महत्वपूर्ण भएको बताए ।

सो अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आफ्नो भवन प्रदेश सभालाई दिएर सहयोग गरेको तर प्रदेश सरकारले यसपटकको वजेटमा बुटवलका अन्य व्यवसायिक संस्थालाई वजेट दिए पनि संघलाई नदिएर पक्षपात गरेको गुनासो गरेका थिए ।

मुलुकको औद्योगिक विकासमा योगदान गर्नकै लागि नव प्रवेशी उद्योगीहरुको विकास र प्रवद्र्धनको लागि नवउद्यमशाला कार्यक्रम सञ्चाल गरिएको बताउँदै अध्यक्ष कसजुले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने कार्यमा सहयोग गर्न समेत सरकारसंग माग गरे ।

बुटवल उद्योग वाणिज्य संघ, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च रुपन्देही र अन्तरप्रेरणा प्रा.लि.को सहकार्यमा नवीनतम सोच भएका नव उद्यमीहरुलाई व्यवसाय गर्न सहयोग गर्ने उद्धेश्यले रुपन्देहीमा प्रथम विजनेस इन्क्युवेसन कार्यक्रमको सञ्चालन गरिएको संघले जनाएको छ ।

विगत ९ महिना देखि सञ्चालनमा रहेको यस कार्यक्रममा ४ जना नवउद्यमीहरुलाई उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण तथा प्रोत्साहन प्रदान गरिएको थियो । यस कायक्रमले उद्यमशीलता विकास कार्यक्रममा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास र स्टार्ट अप इकोसिस्टम संस्थागत गर्नमा योगदान पु¥याएको संघले जनाएको छ ।

रोजगार सृजना गरेर विकास प्रक्रियालाई सहयोग पु¥याउने र नयाँ स्टार्टअपहरुको वृद्धि सुनिश्चित गर्दै, नयाँव्यवसाय र विचारलाई प्रवद्र्धन गर्ने विजनेश इन्कुवेशन कार्यक्रमको प्रमुख उद्देश्य रहेको बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए ।

बुटवल उद्योग वाणिज्य संघ, लुम्बिनी वाणिज्य क्याम्पस, नेपाल युवा उद्यमी मञ्च रुपन्देही र अन्तर प्रेरणा प्रा.लि.को सहकार्यमा रुपन्देहीमा उद्यमशीलताको विकासको लागि विजनेस इन्क्युवेसन केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रले उद्यमीहरुको सशक्तिकरणका लागि विभिन्न उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

रुपन्देही नवउद्यमशालाको समापनको अवसरमा सहभागी नवउद्यमीहरुले आ–आफनो व्यवसायको बारेमा प्रस्तुती तथा लगानी आह्वान गरेका थिए । त्यस अवसरमा अन्तरप्रेरणा प्रलिका प्रमुख कार्यकारी अधिकृत निरज खनालले कार्यक्रमको उद्देश्य, महत्व र भावी योजना बारे जानकारी गराएका थिए ।
त्यस अवसरमा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्य, लुम्बिनी बाणिज्य क्याम्पसका प्राध्यापक गोपालप्रसाद पाण्डे, अन्तरप्रेरणाकी स्वेक्षा अधिकारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव बिमलराज भट्टराईले गरेका थिए ।