बुटवल,१ भदौ । आज दिउँसो १ बजेका लागि आह्वान भएको लुम्बिनी प्रदेश सभाको नाै अधिबेशनकाे पहिलो बैठक अझै बस्न सकेको छैन ।
नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा बुझाएको र उनिहरूमाथी कारबाही नभए सम्म बैठक चल्न नदिने बताए पछि बैठक सुरु हुन नसकेको हो ।
सदन सुचारु गर्ने बिषयमा मुख्यमन्त्री कुल प्रसाद केसी, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल र निवर्तमान मन्त्री बैजनाथ चाैधरीबीच छलफल भए पनि अझैसम्म सहमति हुन नसकेको बताइएको छ ।
सुर्य चुनाव चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेकोले उनिहरूलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएका शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने वली २०७६ मा तत्कालिन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिईन् ।

शाहीले आफुलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएकी थिईन् ।

नेकपा खारेज भएपछि दल राेज्न पाउने प्राबधान अनुसार आफुले माओवादी केन्द्र पार्टी राेजेकाेले आफुलाई एमालेकाे ह्विप नलाग्ने वलीकाे दाबी छ ।