काठमाण्डौ,३२ साउन ।
गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल गर्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।
सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमै बोलाएर गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् ।
अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने भन्दै मन्त्री खाँणले नेपाल फर्काएपछि उनीहरुको पिसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी घरसम्म पुर्याउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदै सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न पनि निर्देशन दिए ।
बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्न मन्त्रालयका अधिकारीले अफगानिस्तानमा रहेका नेपालीको अवस्था र उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेको उनको सचिवालयले जनाएको छ ।






