बेलायत सरकारसंग अविलम्ब वार्ता गरी समस्याको समाधान गर्न माग
काठमाडौ,३२ साउन । राष्ट्रिय जनमुक्ति पार्टीले बेलायतमा एक साता भन्दा बढी समयदेखि गोर्खा भू.पू. सैनिकहरुले गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाएकाे छ ।

यही साउन साउन ३०-३१ गते राजधानी काठमाडौंमा बसेको पार्टीकाे संघीय परिषद बैठकले बेलायतमा गोर्खा भू.पू. सैनिकहरुले गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै उनिहरुको माग सम्बन्धमा नेपाल सरकारले बेलायत सरकारसंग अविलम्ब वार्ता गरी समस्याको समाधान गर्न माग गर्ने निर्णय गरेकाे हो ।

पार्टीका संघीय परिषद् अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाद्वारा साेमबार जारी विज्ञप्तिमा आरक्षण सम्बन्धि सर्वोच्च अदालतकाे पछिल्लो निर्णय संविधान प्रतिकुल रहेको भन्दै निर्णय सच्याउन माग गरेको छ ।

नेपालका आदिवासी जनजाति, दलित, मधेशी, अल्पसंख्यक, महिलाहरुको हकमा राज्यबाट आरक्षणको सुविधा पाउने अधिकार नेपालको संविधानले व्यवस्था गरेको भएता पनि सर्वोच्च अदालतले निर्णय गरी आरक्षणको व्यवस्था खारेज गरेकोमा सो निर्णयप्रति राष्ट्रिय जनमुक्ति पार्टीको ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा उक्त निर्णय अविलम्ब सच्याउन सम्बन्धित पक्षसंग माग गरिएकाे छ ।

त्यस्तै मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी प्रोजेक्ट) नेपाल र नेपालीको हित विपरीत भएको भन्दै बैठकले त्यसलाई तत्काल फिर्ता गर्न नेपाल सरकारसँग माग गरेकाे छ । बैठकले अफगानिस्तानमा विकसित राजनीतिक घटनाक्रम र त्यहाँको राजनीतिक द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुको अवस्था बारे जानकारी लिइ उनिहरूकाे सुरक्षा गर्नुका साथै अविलम्ब उद्दार गर्न पनि बैठकले माग गरेको छ ।

बैठकले छिमेकी मित्र राष्ट्र भारतको ७५ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारत सरकार र भारतीय जनताप्रति पार्टीकाे तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै त्यस अवसरमा समग्र भारतीय जनतामा सुस्वास्थ्य प्रगति र समृद्धिकाे कामना गर्नुका साथै दुई देश बीच जनता-जनता बीचको सम्बन्ध र आपसी हित सम्बन्धमा थप सुदृढताको कामना गरिएको विज्ञप्तिमा जनाइएको छ ।