बुटवल,३२ साउन ।
डिजेल तस्करी गरेकाे आराेपमा प्रहरीले एक भारतीय मालबाहक ट्रक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नम्बर प्लेटकाे आरजे ०२ जीबी ४०५६ नम्बरको २२ चक्के गाडीका चालक भारत राजस्थानका राजेश डागुर र सहचालक ओमप्रकाश रहेका छन् ।

भारतीय नम्बर प्लेटकाे आरजे ०२ जीबी ४०५६ नम्बरको २२ चक्के गाडीमा अतिरिक्त ट्याङ्की जडान गरि भारत तर्फ डिजेल लैजादै गरेको अवस्थामा सो गाडी सहित गाडीका चालक र सहचालकलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए

भारतबाट नेपालमा सामान लिएर आएको मालबाहक गाडीले फर्कने क्रममा ५०० लिटर बढी डिजल भरेर भारत तर्फ फर्कँदै गरेकाे अवस्थामा उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनासंगै भारतबाट नेपाल आएका मालबाहक ट्रकहरुले फर्कने क्रममा डिजेलको अवैध निकासी गर्ने गरेको खुलासा भएको छ ।
भारतीय बजारमा भन्दा नेपालमा डिजेलको मुल्य सस्तो भएपछि भारतीय गाडीहरूले नेपालबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने गरेको बताइएको छ ।