पाल्पा,३१ साउन ।

पाल्पामा एकैदिन २०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
एकै दिन संक्रमण पुष्टि भएको यो संख्या महामारीको दोस्रो चरण यता अहिलेसम्मकै धेरै हो ।
पछिल्लो २४ घण्टामा ७४६ जनाकाे एन्टिजेन परिक्षण गर्दा
१९० जना र १९ जनाको पिसिआर परिक्षण गर्दा १० जना गरि २०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो २४ घण्टामा तानसेन नगरपालिकाका १८५ जना,रामपुर नगरपालिकाका ४ जना, रम्भा गाउँपालिकाका ३ जना,माथागढी गाउँपालिकाका-२, रैनादेवी छहरा गाउँपालिका,बगनासकाली गाउँपालिका र पूर्वखोला गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल जिल्लामा काेराेनाका सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ ।

संक्रमित मध्ये ४ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७४ जना काेराेना संक्रमित निकाे भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १५२, रामपुरका १४, रैनादेवी छहराका ३, बगनासकालीका ३ र रिब्दीकोट, तिनाउ गाउपालिकाका १/१ जना संक्रमित निकाे भएका हुन् ।
जिल्लामा हालसम्म ८ हजार ६५० जना काेराेना संक्रमित भएका छन् भने १३२ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ ।
जिल्ला सदरमुकाम तानसेनमा मानिसहरुको चहलपहल वढेको र भीडभाड तथा स्वास्थ्य मापदण्डको वेवास्ताका कारण संक्रमण निकै उच्च देखिएको सरोकारवाला वताउछन ।

समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय नै वन्द गर्नु परेको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक ५० देखि दुई सय जनाको हराहारीमा संक्रमित थपिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहाडी जिल्लामा २०० जना र तराईका जिल्लामा ५०० सक्रिय संक्रमित रहेको जिल्लालाई रेडजाेनमा राखेकाे छ ।