माइन्युट नभएका कारण मेसु हटाउने निर्णय कार्यान्वयन भएन
बुटवल,३१ साउन ।
शंकर पाेखरेल नेतृत्वको प्रदेश सरकारले जादाजादै हटाइएका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) राजेन्द्र खनाल साेही पदमा कायम रहने भएका छन् ।
पुर्ववर्ती सरकारले खनाललाई मेसुबाट हटाएर रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गर्ने निर्णय गरे पनि उक्त निर्णयकाे माइन्युट हुन बाँकी भएकोले उनी मेसु पदमै कायम रहन सफल भएका हुन् ।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते मेसु डा. राजेन्द्र खनाललाई हटाई रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गरेको सार्वजनिक भएको थियो । यसको एक सातापछि डा. खनाललाई मेसुबाट हटाउने निर्णय माइन्युट नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको हो ।
मेसु नियुक्तिका लागि डा. इन्द्र ढकालको निवेदन आएको तर नियुक्तिको निर्णय नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता डा. खगेन्द्र सुवेदीले जानकारी दिए । प्रमुख सचिवबाट माइन्युट नभएको निर्णयले कानूनी वैधता नपाउने उनलेे बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मेसु परिवर्तनको पत्र नआएको स्वीकारे ।
पूर्ववर्ती सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने खनाललाई मेसुबाट हटाएर रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय गरेको बताएका थिए ।
तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले खनाललाई हटाएर ढकाललाई मेडिकल सुपरिटेन्डेन्ट बनाउन चाहेका थिए । सोही अनुसार आफ्नो सरकार ढल्ने निश्चित भएपछि उनलेे अन्तिम दिन हतार–हतार मन्त्रिपरिषद वैठकबाट निर्णय गराउन खोजेका थिए । तर उक्त निर्णय माइन्युट नभएकोले वैधता नपाएको हो ।
कोरोना महामारीमा राम्रो काम गरेका कारण प्रदेश सरकारले खनाललाई २०७७ फागुन १ गते ‘क’ श्रेणीको पदकले सम्मान गरेको थियो । खनालले अस्पतालको भौतिक सुधारदेखि सेवा विस्तार र स्तर वृद्धिका काम गरिरहेका थिए ।
राम्रो काम गरेको भन्दै आफैंले पुरस्कृत गरेको कर्मचारीलाई बिनाकारण सरूवा गर्ने पुर्ववर्ती सरकारकाे निर्णयकाे सर्वत्र आलोचना भएको थियो ।








