बुटवल,३१ साउन । लुम्बिनी प्रदेशका तिनाउ,राप्ती,बबई लगाय देशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिनाउ, पश्चिम राप्ती,पूर्वी राप्ती,बबई,कमला, वाग्मती लगायत मझौला नदीहरुमा आज पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाद्वारा जारी सूचनामा जनाइएको छ ।
आज लुम्बिनी प्रदेशको नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्युठान, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोटलगायतका जिल्ला भएर बग्ने नदी तथा खोलाहरुमा पनि बाढी आउने सम्भावना छ ।
यस्तै आज प्रदेश एकको इलाम, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, वाग्मती प्रदेशको सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपुरलगायतका ठाउँ भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 







