काठमाण्डाै,३१ साउन ।
अबको केही दिन लगातारजस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विशेषगरी प्रदेश नम्बर एक, दुई, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाे अनुमान छ ।
नेपालमा मनसुन सकिन बाँकी रहेकोले अबकाे केही दिन देशका धेरैजसो ठाउँमा पानी पर्ने माैसमविदले बताएका छन् ।
अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएर पानी परिरहेको हो ।
यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपालि मनसुन निरन्तर सक्रिय छ ।

साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसम पूर्वानुमान महाशाखाकाे तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म लगभग सय दिन दक्षिण एसियाली मनसुन सक्रिय हुने गर्छ । मनसुन अवधिमा देशभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलीमिटर हो भने काठमाण्डौको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलीमिटर हो ।