काठमाडौं,३० साउन ।
नेपाली कांग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

पुर्वघोषित भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को मिति तोकेको हो ।

नयाँ कार्यतालिका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ भने भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने निर्णय भएको छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।