काठमाडौं,३० साउन ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् ।

पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट भने पछि नहट्ने वरिष्ठ नेता नेपालको भनाई छ ।

बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस जारी राख्ने बताए ।

निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालले बताए ।

पार्टी विभाजन नभएर एकता आफुहरुको चाहना भएको भन्दै उनले एकताको सबै ढोका बन्द भयो र एकताको सम्भावना नरहेको अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट भने पछि नहट्ने चेतावनी दिए । यद्यपी त्यो अन्तिम उपायमात्रै हुने उनको भनाइ छ ।

उनले भने–‘अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं ।’

पार्टी एकताका लागि आफूहरु सरकारमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको पनि बताउदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु परेको दोहो¥याए ।