काठमाडौं,३० साउन ।
नेपालमा शनिबार थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ६६७ पिसिआर परीक्षण गर्दा १ हजार ९४७ र ४ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा ६७७ जना गरी २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३२० जना कोरोना संक्रमित निको भएका छन भने २० जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना संक्रमित निको भएका छन भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा रहेका छन भने ३ हजार ४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ५३५, ललितपुरका १६४ र भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कास्कीमा २१३, चितवनमा १४३, झापामा १०३, मोरङमा ९४, मकवानपुरमा ४७, कैलालीमा ४५, सुनसरीमा ४२, रुपन्देहीमा ४०, सुर्खेतमा ३७, दाङमा ३१, नवलपरासी पूर्वमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।







