संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउनु अहिलेको सरकारको मुख्य जिम्मेवारी
बुटवल,३० साउन ।
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका नवनियुक्त शहरी तथा ग्रामीण विकास मन्त्री डिल्ली बहादुर चौधरीले बर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउनेतर्फ लाग्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ,प्युठान रूपन्देही सम्पर्क समितिद्वारा प्रदेशका नवनियुक्त शहरी तथा ग्रामीण विकास मन्त्री डिल्ली बहादुर चौधरीको स्वागतमा शनिबार बुटवलमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

नेकपा एमाले नेतृत्वको दुई तिहाई नजिकको कम्युनिष्ट सरकारबाट संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पटक पटक प्रहार भएको भन्दै उनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउने अहिलेको सरकारको मुख्य जिम्मेवारी र दायित्व भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भए मात्रै प्रदेश र मुलुक समृद्ध बन्नसक्ने बताउदै मन्त्री चौधरीले सरकार जनताको जिवनस्तर माथि उकास्ने कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

बर्तमान सरकारसँग धेरै समय नभएकोले जनताले गरेका सबै अपेक्षा पुरा गर्न सम्भव नभए पनि जनअपेक्षालाई सम्बोधन गर्ने खालका योजना अगाडी बढाइने उनले बताए ।

कम्युनिस्टको सरकार कस्तो हुदो रहेछ भन्ने कुरा जनताले साडे ३ बर्ष भोगिसकेको उल्लेख गर्दै मन्त्री चौधरीले सरकारलाई रचनात्मक सुझाव दिन समेत पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेविसंघ प्युठान रूपन्देही सम्पर्क समितिका सभापति उमेश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राध्यापक संघका केन्द्रीय सचिव विष्णु पोखरेल, नेपाली कांग्रेस प्युठानका उप सभापति बद्री लम्साल, नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डे, नेपाली कांग्रेस प्युठानका युवा नेता प्रमोद पोखरेल लगायतले नवनियुक्त मन्त्री चौधरीलाई बधाई ज्ञापन गर्दै जनताले सम्झीरहने खालका योजना अगाडी बढाउन सुझाव दिएका थिए ।