बुटवल,३० साउन ।
आज लुम्बिनी प्रदेशका तिनाउ, पश्चिम राप्ती र बबईलगायतका मझौला नदीहरुमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशको नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशको सुर्खेत, सल्यान, लगायतका नदी तथा खोलामा पानीको बहाव केही बढ्ने महाशाखाको छ ।

यद्यपी ती नदिहरुमा सतर्कता तह भन्दा तलै रहने जनाइएको छ ।

त्यस्तै गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बाग्लुङका नदी तथा खोलामा पनि पानीको बहाव केही बढ्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिमको डोटी लगायतका केही नदीमा पनि सामान्य रुपमा पानीको बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले शनिबार एक सूचना जारी गरी कोशी, कर्णाली र यी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको हो । प्रदेश नम्बर एकको इलाम, उदयपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, पाँचथर, वाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, मकवानपुरका नदि तथा खोलाहरुमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।