पाल्पा,३० साउन ।
स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर पाल्पाको जुठापौवामा आफ्नै छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवा बस्ने ३५ वर्षीय धनबहादुर लम्तरी रहेका छन् ।

उनको आफ्नै बाबु ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई हानेको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार बेलुका कर्णबहादुरले मकै बारीमा आएको स्याललाई ताकेर हानेको भरुवा भन्दुकको छर्राले लागेर घरदेखि करिब १०० मिटर टाढा मकै बारीमै रहेका धनबहादुरलाई लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।