बुटवल,२९ साउन ।
शिक्षामा पहुँच पु¥याउने उदेश्यले रोटरी क्लव अफ बुटवल साउथले विपन्न परिवारका बालबालिकालाई रेडियो प्रदान गरेको छ ।
रोटरी क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी, लियो क्लव अफ भलवारी सिटी र रिड नेपालको सहकार्यमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ मा रहेको सेमराबजार माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका एक सय जना बिद्यार्थीलाई रेडियो प्रदान गरिएको हो ।
क्लवले शुक्रबार बिद्यालयमा पुगेर रेडियो हस्तान्तरण गरेको हो ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बालबालिकालाई क्लवले दिएको रेडियो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मेयर घिमिरेले कोरोना महामारीका कारण भौतिक रुपमा बिद्यार्थीलाई सहभागि गराएर पठनपाठन गराउन नसकिएको बेला शिक्षाको लागि रेडियो फलदायी हुने विश्वास व्यक्त गरे ।
उहाँले अहिले पनि केही बिद्यालयले बिद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर पठनपाठन गराएको सूचना आएको बताउँदै त्यस्तो काम नगर्न आग्रह गरे ।
कोरोना भाईरस संक्रमणको कारण भौतिक रुपमा बिद्यालय सञ्चालन हुन नसक्दा वैकल्पिक विधिमा समेत सहभागि हुन नसक्ने बिद्यार्थीलाई लक्षित गरेर रेडियो प्रदान गरिएको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष ध्रुव धितालले बताए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गणेश भण्डारीले कोरोना महामारीमा विद्यालय बन्द हुँदा विद्यालयले सञ्चालन गर्ने वैकल्पिक विधिबाट हुने पठनपाठनमा सहभागि हुन नसक्ने बिद्यार्थीलाई रेडियो प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै रेडियोबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न नगरपालिकासंग आग्रह गरे ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तारानाथ कंडेल, पूर्व अध्यक्ष नेत्रप्रसाद पाठक लगायतले भनाई राखेका थिए ।
क्लवले उक्त विद्यालयमा ह्याप्पी स्कुल कार्यक्रम समेत सञ्चालन गरेको छ । जसअन्तरगत बिभिन्न समयमा आवश्यक सहयोग गर्दै आएको क्लवका सचिव निशानबाबु कार्कीले जानकारी दिए ।
सो अवसरमा विद्यालयमा स्थापना गरिएको कम्प्युटर तथा बिज्ञान प्रयोगशाला उद्घाटन गरिएको छ । विद्यालयले स्थापना गरेको कम्प्युटर तथा बिज्ञान प्रयोगशालाको नगरपालिकाका मेयर घिमिरेले उद्घाटन गरेका हुन् ।
बिद्यालयको आन्तरिक स्रोत र सहयोगबाट कम्प्युटर र बिज्ञान प्रयोगशाला स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज पाण्डेले जानकारी दिए ।






