कपिलवस्तु,२९ साउन ।
प्रतिबन्धित रेडपाण्डाको छालासहित कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका ४ सिद्धिपुरमा रहेको एक होटलबाट प्रहरीले रेडपाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । उनीहरूको साथबाट रेडपाण्डाको दुई वटा छाला र पुच्छर बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका तीन जनालाई बरामद भएको छालासहित आवस्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको छ । उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चल्ने सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले जानकारी दिए ।