पूर्ववर्ती सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन हुने
बुटवल,२९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले आफ्नो पहिलो जिम्मेवारी बिधि र प्रक्रियालाई स्थापित गरी संविधान र लाेकतन्त्रकाे रक्षा गर्नु रहेको बताएका छन् ।
मुख्यमन्त्रीमा पदबहाली पश्चात् पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै केसीले पछिल्लो ६ महिनायता संविधान,विधि प्रक्रियालाई मिच्ने काम भइरहेको भन्दै आफुहरूले विधि,प्रक्रियालाई स्थापित गर्नुकासाथै संविधानकाे कार्यान्वयन र संघीयतालाई थप बलियो बनाउने बताए ।
पछिल्लो छ महिनायता भएका घटनाक्रमले संविधानमाथि नै प्रश्न उठ्ने गरि राजनीतिक अस्थिरता र अराजकता बढेको भन्दै मुख्यमन्त्री केसीले आफुहरूले त्यसलाई सहि ठाउँमा ल्याउने उल्लेख गरे ।
उनले फरक फरक सिद्धान्त र विचार भएको गठबन्धन भित्र लोकतन्त्रलाई मजबुत बनाउने र गणतन्त्रलाई संस्थागत गर्ने विषयमा एक मत रहेको बताउँदै उनले संविधानको रक्षा र सहि कार्यान्वयन नै गठबन्धनको कार्यभार भएको बताए ।
विपक्षी एमालेतर्फ लक्षित गर्दै मुख्यमन्त्री केसीले कुर्सि सिध्याउने र आफु बाँच्ने संस्कार नदेखाईने बताए । उनले सञ्चार बिधेयक विषयगत समिति र सरोकारवाला निकायसँग छलफल गरेर सराेकारवालाहरूकाे सुझाव अनुसार संशोधन गरेर मात्र प्रदेश सभाबाट पारित गर्ने प्रतिवद्वता व्यक्त गरे ।
मुख्यमन्त्री केसीले शंकर पोखरेल नेतृत्वकाे सरकारले अध्यादेश मार्फत ल्याएको बजेट संशोधन हुने बताए ।
संसद छलेर र संसदबाट भागेर दुरासयपूर्ण नियतबाट बजेट ल्याइएको भन्दै उनलेे पुर्ववर्ति सरकारले ल्याएको निती तथा कार्यक्रम र बजेट संशोधन हुने बताए । संसदबाट पारित नै नभएकोले बजेट स्वाभाविकरुपमा संशोधन हुने बिचार व्यक्त गरे ।
संविधानले व्यवस्था गरे अनुसार संसदको बाटोबाट आउनु पर्ने बजेट सदनको सर्वोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट आएको टिप्पणी गर्दै उनलेे त्यस्तो बजेट संशोधन हुनुलाई स्वाभाविक मान्नु पर्ने बताए ।






