बुटवल,२८ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीले पद तथा गोपनीयताका सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय आयाेजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई सपथ दिलाएका छन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी आजै मात्र ४ दलीय गठबन्धनको निर्णय अनुसार ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केसीलाई चार दल र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
गत वैशाखदेखि अल्पमतमा रहेपनि विभिन्न बहानामा पदबाट नहटेका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम केसी मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । बहुमतमा रहेका ४ दलीय गठबन्धनले तेस्रो पटक पेश गरेको अविश्वासको प्रस्ताव उपर छलफल हुने निश्चित भएपछि नेता पोखरेलले बुधबार राजीनामा दिएका थिए ।

नवनियुक्त मुख्यमन्त्री केसीले आजै ६ जनालाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुले पनि आजै सपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीमा कांग्रेसबाट डिल्ली चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का तथा जसपाबाट सहसराम यादव, पुर्मती ढेंगा र सुमन शर्मा रायमाझी छन् । सुर्य चिन्हबाट चुनाव लेडेका स्वतन्त्र सांसद अजय शाहीलाई पनि मन्त्री बनाइएको छ ।

कांग्रेस सांसद चौधरीलाई ग्रामिण तथा शहरी विकास मन्त्रालय,
माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्रालय र जसपा सांसद सहसराम यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिईएकाे छ भने अन्यलाई बिनाबिभागिय मन्त्रीकाे रूपमा सपथ ग्रहण गराइएको छ ।

सपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल सहित निवर्तमान मन्त्री तथा एमालेका प्रदेश सभा सदस्यहरू भने उपस्थित भएनन् ।