काठमाडौ,२७ साउन । जादाजादै मुख्यमन्त्री शंकर पाेखरेल नेतृत्वको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गर्नुका साथै जिम्मेवारी हेरफेर गरेको छ ।

राजिनामा दिनुभन्दा केही अगाडि बसेकाे प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन गर्नेदेखि लुम्बिनी प्रादेशिक अस्पतालका मेसु परिवर्तन गर्नेसम्मका निर्णय गरेको हो ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई पदबाट हटाएको छ । खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सरुवा गर्दै डा. ईन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृत प्रदान गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

यस्तै आइसाेलेशन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्नुकासाथै स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत गरेको छ ।