बुटवल,२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
आफूविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु केही समय अगावै उनले राजीनामा दिएको हुन् । मुख्यमन्त्री पोखरले राजीनामाको पत्र बुझाउन प्रदेश प्रमुखको कार्यालयमा गएको एमाले संसदीय दलका एक सदस्यले जानकारी दिए ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा दिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको थियो । बुधबार विहान मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्ने सबै अधिकार मुख्यमन्त्री पोखरलाई दिने निर्णय गरेको हो ।
८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेका छन् । मुख्यमन्त्री पोखरेलाई नेकपा एमालेका ३८ जना सांसदको मात्रै समर्थन रहेको थियो भने विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादीका १८ सभामुख बाहेक, जनता समाजवादी पार्टीका ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।






