बुटवल,२७ साउन ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको आयोजनामा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई विद्युतीय कारोबार सम्बन्धी अभिमुखिकरण कार्यक्रम मंगलबार रुपन्देहीको ड्राइभरटोलमा सम्पन्न भएको छ ।
कार्यक्रममा इआरपि परियोजना राजन नेपालले कार्यक्रमको उदेश्य र महत्व बारे तथा निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले निगमको भावि योजना तथा कार्यक्रमको औचित्यबारे व्यवसायीहरुलाई अभिमुखिकरण गरेका थिए ।
निगमका प्रादेशिक कार्यालय भलवारीका प्रमुख प्रलयंकरलाल आचार्यको सभापतित्व र निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान,पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपाने,पश्चिमाञ्चल टंकर व्यवसायी संघका कोषाध्यक्ष धनेन्द्र पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा सबैभन्दा पहिला इआरपि प्रणालीमा दर्ता हुने रुपन्देहीको जाफरी आयल स्टोर्स, इआरपि प्रणालीबाट पहिलो बिल काट्ने रुपन्देहीकै त्रिनेत्रम पेट्रोलियम, इआरपि प्रणाली मार्फत पहिलो भुत्तानी गर्ने कपिलबस्तुको रिजवन आयल ट्रेडर्स र इआरपि प्रणाली लागु भएपछि लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै कारोबार गर्ने मिलन ब्रदर्श सप्लायर्स बुटवललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले इआरपि प्रणाली मार्फत कारोबारसँगै निगम र व्यवसायी दुबैको कारोबार पारदर्शी हुने र बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव नहुने बताए ।






