बुटवल,२७ साउन ।
विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन एमाले नेता तथा प्रदेशसभा सदस्यबाट दबाब दबाब दिएका छन् ।

अविश्वासको प्रस्तावकाे सामना गर्ने कि राजिनामा दिने भन्ने बिषयमा छलफल गर्न अहिले मुख्यमन्त्री पाेखरेलकाे सरकारी निवासमा अहिले संसदीय दलको बैठक बसिरहेको छ ।
विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेल बिरूद्व दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजेका लागि प्रदेश सभाकाे विशेष अधिवेशन बोलाइएको छ ।
प्रदेश सभाको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।

एमालेका अधिकांश नेता र प्रदेश सभा सदस्यीयहरूले अधिवेशन सामना गर्नेभन्दा पहिल्यै राजीनामा दिने विकल्पमा बढ्ता जोड दिएकाे एक प्रदेश सभा सदस्यले बताए ।

मुख्यमन्त्री पाेखरेल बिरूद्वकाे अविश्वास प्रस्तावमाथि छलफल हुने दिन बुधबार बिहानैदेखि सत्तापक्ष र विपक्षी गठबन्धन प्रदेश सभामा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफलमा जुटेका छन् । विपक्षी गठबन्धन मंगलबारदेखि लुम्बिनीको लुम्बिनी बुद्ध गार्डेन होटलमा बसेका छन भने सत्ता पक्ष एमाले संसदीय दलको बैठक मुख्यमन्त्री निवासमा बसिरहेको छ ।

प्रदेश सभामा एमालेको बहुमत छैन भन्ने स्पष्ट भएपछि राजीनामा दिएर बाटो खोलिदिनु पर्ने धेरै प्रदेश सभा सदस्यहरू तथा नेताहरुले सुझाव दिएको एमालेका एक प्रदेश सभा सदस्यले जानकारी दिए।

यद्यपि पछिल्लोपटक पाेखरेल नेतृत्वको सरकारमा सहभागी भएका केही मन्त्रीले भने अन्य विकल्प भएसम्म राजिनामा दिइहाल्न नहुनेमा जाेड दिएको बताइएको छ ।

मुख्यमन्त्री पाेखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धन माओवादी, कांग्रेस, जसपा र जनमोर्चाका ३४ जना सांसदले साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।

अधिवेशन संविधानविपरीत रहेकोले विशेष अधिवेशन फिर्ताको माग गर्दै सत्ता पक्ष एमालेका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले मंगलबार निवेदन हेर्न नभ्याइनेमा राखेपछि विपक्षी गठबन्धन उत्साहित भएका छन् ।

हाल ८० सदस्य मात्रै कायम रहेको लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् भने सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।