बुटवल,२७ साउन । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।

पार्टीको निर्णय बिरूद्व सरकारमा सहभागी भएर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन महत्त्वपूर्ण सहयोग गरेका मन्त्री पाण्डेयले सरकार ढल्ने निस्चित भएपछि मंगलबार राजीनामा दिएका हुन् । उनी पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीको कारबाहीमा परेर सांसद पदबाट मुक्त भएका थिए।

उनलेे सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको जनाएका छन् ।

विपक्षी गठवन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न आजका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएका बेला त्यसको अघिल्लो दिन पाण्डेले मन्त्रीबाट राजिनामा दिएका हुन् । प्रदेश सभाकाे विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ ।

यसैबीच जसपा संसदीय दलको वैठकको निर्णय अनुसार राजीनामा दिएको भनी पाण्डेले गरेको प्रचारप्रति पार्टीले आपत्ति जनाएको छ । जसपा संसदीय दलका नेता सहषराम यादवले सरकार ढल्ने निश्चित भएपछि पाण्डेले आफूखुशी राजीनामा दिएको हुनसक्ने बताए ।

‘पार्टी संसदीय दलको नेता म हुं, दलको बैठक आज बसेकै छैन’–यादवले भने–‘पदका लागि जे पनि गर्न तयार हुने चरम अवसरवादीले पार्टीको नाम दुरुपयोग गर्नु आपत्तिजनक छ।’ नेता यादवले आइन्दा पार्टीको नाम दुरुपयोग गरेको पाइएमा कानूनी कारवाही गर्ने पाण्डेलाई चेतावनी दिए ।