काठमाण्डौं,२६ साउन ।
नेपाली बैज्ञानिक महाबिर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई हरिसिद्धि ललितपुर निवासी डा. सरीता श्रेष्ठ र ई.मेघेन्द्र कुमार श्रेष्ठले गाडी प्रदान गरेका छन् ।

उनिहरुले मंगलबार आफ्नै निवासमा बोलाएर बा ६ च ७५६८ नम्बरको (७५ हजार किलोमिटर मात्रै चलेको ) राम्रो अबस्थाको टाटा टीएल गाडी दान गरेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

सो गाडीसँगै उनिहरुले गाडीको ब्लु बुक, नबिकरण र ईन्स्युरेन्स गरेको कागजपत्र पनि हस्तान्तरण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पुनले लेखेका छन्–‘अब छिट्टै उक्त गाडी उहाँहरुले राष्ट्रिय आविष्कार केन्द्रको नाममा नामसारी गरिदिनु हुनेछ । सो गाडीलाई राष्ट्रिय आविष्कार केन्द्रले सामानहरु ओसार्ने काममा र काम बिशेषले बाहिरी जिल्लाहरुमा जानु पर्दा सवारी साधनको रुपमा पनि प्रयोग गर्नेछ । सो गाडीले राष्ट्रिय आविष्कार केन्द्रको हाल भैरहेको ढुवानी खर्चको धेरै नै पैसा बचाउन मदत पनि गर्ने छ । गाडी दानको लागी डा. सरीता श्रेष्ठ र ई.मेघेन्द्र कुमार श्रेष्ठलाई धेरै धन्यबाद छ ।’