काठमाडौं,२६ साउन ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।

प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार रिट दायर गरेका थिए ।

रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन निमिल्ने दाबी गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क रिट निवेदकको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका विपक्षी दलका ३४ प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्तावमाथी छलफलका लागि विशेष अधिवेशको माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन दिएका थिए ।

अविश्वासको प्रस्तावमाथी छलफलका लागि प्रदेश प्रमुख अमिक शेरचनले भोली बुधबार प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।